नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Wednesday, September 14, 2022

रूपाको वक्तृत्वकलामा शिवालयकी करिनाको ह्याट्रिक, एस. ई. ई. मा छात्र-छात्रा दुवैमा शिवालय उत्कृष्ट

पोखरा । कास्कीको रूपा गाउँपालिका-२ स्थित शिवालय माविकी करिना ओझाले वक्‍तृत्वकला प्रतियोगितामा ह्याट्रिक गरेकी छिन् ।

बुधबार रूपा गाउँपालिकाद्वारा ५८ औँ बालदिवसका अवसरमा आयोजित ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम भएसँगै उनले ह्याट्रिक गरेकी हुन् । यसै शैक्षिक सत्रमा मात्रै उनले यसअघि गोनेसा नेपाल र पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानद्वारा रूपा गाउँपालिकाभित्रका विद्यालयका बिच सम्पन्न गरेका वक्‍तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन् । उनी शिवालय बाल क्लबकी अध्यक्ष पनि हुन् ।



बाल दिवसका अवसरमा आयोजित सो प्रतियोगितामा रामकोट माविकी सजिता अधिकारी, अरुणोदय आविका विश्वास विक र विश्वशान्ति माविकी सफलता हायु राई क्रमशः दोस्रो, तेस्रो र सान्त्वना भएका थिए ।

यसै बिच, बाल दिवसकै अवसरमा रूपा गाउँपालिकाभित्रका विद्यालयहरूबाट २०७८ को एस. ई. ई. परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

जसअनुसार शिवालय माविका धिरज सुनार छात्रतर्फ र सोही विद्यालयकी कृति ओझाले छात्रातर्फ सर्वोत्कृष्ट अङ्क ल्याएबापत पुरस्कृत भएका थिए । धिरजसँगै छात्रतर्फ समान जी. पी. ए. ३.२५ ल्याउने विश्वशान्ति माविका आदर्श घिमिरे पनि पुरस्कृत भएका थिए । यसअघि पनि शिवालयकै छात्र-छात्रा दुवैतर्फ उत्कृष्ट जी. पी. ए.सहित पुरस्कृत भएका थिए ।



गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिक्षाका क्षेत्रमा पढाइका अलावा विद्यार्थीको प्रतिभा प्रस्फुटनमा पनि गाउँपालिकाले प्रयास गर्दै आएको बताए ।

शिक्षा शाखा प्रमुख सन्दिप पौडेलको सञ्चालनमा भएको कार्यक्रममा वक्तृत्वकला प्रतियोगितातर्फ बृहस्पति अधिकारी, सीता सापकोटा र मनोज पौडेल निर्णायक रहेका थिए ।




No comments:

Post a Comment

shivalayaschool2017@gmail.com