नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Tuesday, November 2, 2021

कास्कीका प्रमुख जिल्ला अधिकारीद्वारा रूपाका प्रधानाध्यापकसँग अन्तर्क्रिया

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले रूपा गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरूसँग मङ्गलबार अन्तर्किया गरेका छन् ।

समाज परिवर्तनको प्रमुख संवाहक नै शिक्षकहरू भएकाले आफूले प्रधानाध्यापकहरूसँग छलफल गर्न चाहेको उनले बताए । ‘शिक्षकहरूको जिम्मेवारी अत्यन्त ठुलो छ’ अन्तर्क्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘अबको समृद्धिको नेतृत्व गर्ने भनेकै प्रधानाध्यापक र शिक्षकहरूले हो ।’ विश्वव्यापी कोरोना महामारीका बेला शिक्षालाई कसरी अघि बढाइएको छ भन्ने जानकारीसमेत लिने उद्देश्यले अन्तर्क्रिया गरिएको उनको भनाइ थियो । रूपामा भएका असल अभ्यासहरू अन्यत्र पनि लागु गर्न सक्दा सकारात्मक नतिजा निकाल्न सकिने धारणा राख्दै आचार्यले विद्यालयमा हाल रहेका समस्यालाई बढाउने होइन, व्यक्तिकै तहसम्म पुगेर समाधान गर्न प्रधानाध्यापकहरूलाई आग्रह गरे । प्रधानाध्यापकले त्यो क्षमता राख्ने उनले बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले रूपाका विद्यालयहरूले कोरोना महामारीका बेला शिक्षालाई अघि बढाउन गरेको प्रयास सराहनीय भएको बताए । उनले अबका शिक्षकहरू प्रविधिमैत्री नभई अघि बढ्नै नसक्ने भन्दै नजाने सिक्नका लागि नलजाउन आग्रह गरे ।



रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रूपा गाउँपालिकाले शैक्षिक विकासका लागि सक्दो प्रयास गरेको जानकारी दिए । राज्यले प्रधानाध्यापकलाई दिने गरेको भत्ताप्रति असन्तुष्टि जनाउँदै ओझाले समयअनुसार त्यसमा पुनरावलोकन हुनुपर्ने बताए । केही हदसम्म भए पनि प्रधानाध्यापकलाई प्रोत्साहन गर्नका लागि रकम थप गरेको उनले बताए । राज्यले आधारभूत तह (१-५) को प्रधानाध्यापकलाई २००, आधारभूत तह (६-८) को प्रधानाध्यापकलाई ३०० र माध्यमिक तहको प्रधानाध्यापकलाई ५०० रुपैयाँ भत्ता दिने गरेकोमा रूपा गाउँपालिकाले क्रमशः ३००, ४०० र ६०० रुपैयाँ थप भत्ता दिँदै आएको छ । आन्तरिक आम्दानीको झण्डै ६० प्रतिशत बजेट शिक्षामा खर्च गर्ने गरेको पनि अध्यक्ष ओझाले बताए ।



शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलको संयोजनमा भएको कार्यक्रममा गाउँफर्क आधारभूत विद्यालयकी प्रधानाध्यापक पार्वती ढुङ्गाना, इन्द्रायणी आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रराज भट्टराई, रूपाज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मनिराम कडेल र शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले लकडाउनका समयमा सिकाइलाई अघि बढाउन आफूहरूले गरेको असल अभ्यासबारे जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाले स्वागत गरेका थिए ।

 

 

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com