नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Saturday, April 10, 2021

रूपाको राष्ट्रपति रनिङ शिल्डमा शिवालय दोस्रो

 पोखरा । कास्कीको रूपा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगताको उपाधि कालिका माध्यमिक विद्यालय, स्यास्‍त्रीले जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा कालिकाले ५ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित उपाधि कब्जा गरेको हो । कालिकाले छात्रा भलिबल, छात्रा त्रिपल जम्प, १००, २०० र ४०० मिटर छात्रा दौडमा स्वर्ण पदक जितेको थियो । 

प्रतियोगितामा शिवालय माध्यमिक विद्यालय, थुम्कीले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित दोस्रो स्थान हात पारेको छ । शिवालयले छात्रा रिले दौड, ४०० मिटर छात्र  दौड र छात्र त्रिपल जम्पमा स्वर्ण पदक जितेको थियो । शिवालयका लागि सुजन ओझाले ४०० मिटर दौडमा, आशिष कार्कीले त्रिपल जम्पमा र सन्जिना पौडेल, रविना विक, दीपा ओझा र कृति ओझाको समूहले रिले दौडमा स्वर्ण हात पारेका हुन् ।

सो अवसरमा आयोजित छात्र भलिबलको उपाधि भने रूपाज्योति माविले जितेको छ । साविकको रनिङ शिल्ड विजेता विश्वशान्ति माविले भलिबलमा दोस्रो स्थान हासिल गर्‍यो । प्रतियोगितमा रूपाज्योतिका प्रीतम गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

जम्मा १८ स्वर्णका लागि रूपा गाउँपालिकाभित्रका १० ओटा माध्यमिक विद्यालयहरूले भाग लिएका थिए । प्रतियोगिताका विजेताहरूलाई गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानालगायतले नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

अध्यक्ष ओझाले पुरस्कृत विद्यार्थीहरूलाई बधाई दिँदै खेल क्षेत्रको विकासका लागि विद्यालयहरूले थप पहल गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने कास्कीको पहिलो स्थानीय तह रूपा भएको भन्दै उनले जिल्ला स्तरमा पनि रूपाका खेलाडीहरूले प्रभावकारी खेल खेल्ने विश्वास व्यक्त गरे ।

सामाजिक विकास समितिका संयोजक रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलको सञ्चालन र गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङको स्वागतमा भएको थियो ।


No comments:

Post a Comment

shivalayaschool2017@gmail.com