नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, April 17, 2020

सङ्कटका बेला शिक्षण सिकाइलाई कसरी निरन्तरता दिने ?- महेन्द्र न्याैपाने


सङ्कटका बेला शिक्षण सिकाइलाई कसरी निरन्तरता दिने ?

- महेन्द्र न्याैपाने


विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड१९) र त्यसको नियन्त्रणका लागि जारी लकडाउन र त्यसको अनिश्चितताले गर्दा विश्वका सबैजसो राष्ट्र र तिनका विविध क्षेत्र नराम्ररी प्रभावित बनेका छन् । हाम्रो देश पनि यो महामारीबाट अछुतो बन्न सकेको छैन । लकडाउनबाट प्रभावित एउटा महत्वपूर्ण क्षेत्र होशिक्षा । शिक्षा क्षेत्रमा सामान्य प्रभाव मात्र परेको छैन । यसबाट शिक्षा क्षेत्रका गतिविधिहरू ठप्पप्रायः छन् अनि यसले एक पटक हामीलाई हाम्रो शिक्षा प्रणालीका बारेमा सोच्च बाध्य बनाएको छ ।
अहिलेको अवस्था
कोभिड१९ का कारण जारी लकडाउनका कारण विश्वमा ज्यान गुमाउने र नयाँ सङ्क्रमितको समाचारले विश्वसँगै नेपालीहरू पनि त्राहीमाम छन् ।
झन् विदेशमा बसोबास गर्ने नेपाली र नेपालमै पनि सङ्क्रमितको सङ्ख्या तथा डरलाग्दा यथार्थहरू सार्वजनिक हुँदा स्वाभाविक रूपमा सबैको ध्यान बँच्न र बचाउनतिर गएको छ । ठप्प बनेको शिक्षालाई गति दिन ध्यान पुग्न सकेको छैन । एसइई परीक्षा स्थगित छ । कक्षा ११, १२ र विश्वविद्यालयका विभिन्न परीक्षाहरू पनि स्थगित छन् । निकट भविष्यमा हुने परीक्षाहरू पनि स्थगित हुने सम्भावना बढ्दै गइरहेको छ ।
एक विद्यार्थी एक ल्यापटपको कुरा सपनामा सीमित भएको अवस्था हाम्रा सामु जगजाहेर छ । मन्त्रालयको प्रतिवेदनलाई आधार मान्दा १३ प्रतिशत विद्यालयमा मात्र इन्टरनेटको सुविधा छ । झन् तिनको प्रयोगको अवस्था र प्रभावकारिताको खोजी गर्ने हो भने त अवस्था झन् डरलाग्दो देखिन्छ ।
अध्ययन/अध्यापन सुरु हुनुपर्ने विद्यालयको शैक्षिक सत्रको टुङ्गो छैन । सबैका लागि शिक्षा प्रदान गर्न विद्यालयबाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि विगतदेखि सञ्चालन हुँदै आएको विद्यार्थी भर्ना अभियानको समय टर्न लागिसकेको छ । कोरोनाको प्रभाव विश्वव्यापी रूपमा बढ्दै गएको, भारतमा उच्च दरमा फैलिरहेको अवस्था र नेपामा पनि थपिँदै गएका नयाँ सङ्क्रमितको सङ्ख्याले मानिसमा डर र त्रास बढ्दो छ । यसले सबैजसो शैक्षिक क्यालेन्डरहरू लागू नहुने र शैक्षिक सत्र पछाडि धकेलिने निश्चित छ । यो महामारीको समयमा जीवनको संरक्षणका लागि एकजुट हुनुपर्ने पहिलो र अनिवार्य सर्त भए पनि रोकिएको शैक्षिक गतिविधिलाई टुलुटुलु हेरेर मात्रै बस्ने हो भने यसले आगामी दिनमा झनै ठूलो शैक्षिक क्षति निम्त्याउने छ ।
अब के गर्ने ?
कोभिड लकडाउनका कारण थलिएको शिक्षा क्षेत्रलाई गति प्रदान गर्नुको विकल्प छैन । यसका लागि सार्थक प्रयासको थालनी गर्न ढिला भइसकेको छ । अब पनि थालनी नगरे यसले थप शैक्षिक क्षति निम्त्याउने छ । यसर्थ यो क्षतिलाई कम गर्न कोभिड-१९ बाट जोगिनका लागि सरकारले जारी गरेको निर्देशनसमेतको पालना गर्दै प्रविधिलाई उपयोग गरी दूर शिक्षा प्रणालीलाई प्रयोगमा ल्याउनुपर्दछ । सहरका एकाध सुविधासम्पन्न शिक्षण संस्थाहरूले सुरुवात गरेका अनलाइन शिक्षा तथा अन्य केही निजी संस्थाले तयारी गरिरहेका समाचारहरू प्रकाशित भइरहेका छन् । केही दिनमा सहरी क्षेत्रका अन्य निजी विद्यालयले पनि यस्तो शिक्षालाई अगाडि बढाउने छन् तापनि काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, महेन्द्रनगरलगायतका सहरदेखि बाहिर आम नेपालीको ठूलो आवादी छ । त्यसैले, यस्ता केही प्रयासले आम नेपाली विद्यार्थीको प्रतिनिधित्व गर्न सक्दैनन् । NCED ले सञ्चालन गरेको भर्चुअल कक्षा पनि त्यति प्रभावकारी बन्न सकेको छैन । टेलिभिजन, रेडियो, मोबाइल एप्स, इन्टरनेट आदिका माध्यमबाट शिक्षण सिकाइका कार्यक्रमहरू प्रभावकारी रूपमा व्यापक ढङ्गले सञ्चालन गर्नु आवश्यक छ । यस्ता सामग्री व्यापक रूपले प्रकाशन र प्रसारण गर्नुपर्दछ ताकि जसले, जहाँ, जुन माध्यममा पहुँच राख्दछ, उसले त्यही माध्यमबाट प्रयोग गर्न सकोस् । शैक्षिक सत्र समापन भइसकेर नतिजा सार्वजनिक हुन मात्र बाँकी रहेकाले तल्लो कक्षाको परीक्षा दिएका विद्यार्थीलाई माथिल्लो तहको अध्ययनमा सरिक बनाउँदा केही फरक पर्ने छैन । विभिन्न तह र विषयका पाठ्यक्रममा आधारित भएर श्रव्य, दृश्य, श्रव्यदृश्य आदि माध्यमबाट रोचक खालका अनलाइन, अफलाइन सामग्री तथा अन्तरक्रियाका कार्यक्रमहरू निर्माण गर्न सकिन्छ ।
यसबाहेक पनि विद्यार्थीका लागि सिकाउनुपर्ने धेरै विषयवस्तुहरू रहेका छन् । यसबाहेक नेपाली भाषा, संस्कृति, नेपालका पर्यटकीय स्थल, कृषि उपज, पर्यावरण, सूचना प्रविधि, साधारण सीप (Soft Skill) नैतिकता, मानवीय मूल्य मान्यता, नागरिक दायित्व, सूचना प्रविधिलाई उपयोग गरी सिक्ने प्रविधि, सूचना प्रविधिको उपयोग गरी सिक्ने तरिका, कम्प्युटर प्रयोगको तरिका, विभिन्न विषयको अध्ययनक्षेत्र, अभिभावक शिक्षा विद्यार्थीका लागि उपयोगी विषयवस्तु हुन सक्छन् । यसका लागि शिक्षा मन्त्रालयले विभिन्न ६ उपसमिति गठन गरेर अध्ययन गरी सिफारिस गर्न भने पनि त्यसले तत्काल र प्रभावकारी सिफारिस गर्ला र त्यसको कार्यान्वयन तल्काल र प्रभावकारी रूपमा सुरु भइहाल्ला भन्नेमा विगतका गतिविधिसमेतका आधारमा शङ्का गर्नुपर्ने प्रशस्त ठाउँ देखिन्छन् । अध्ययन र सिफारिसको औपचारिकतामा नअल्झिई तल्कालै आवश्यकता पहिचान गरी कार्य सुरु गरिहाल्नुपर्दछ । यसका लागि सामग्री अनलाइन, अफलाइन सामग्री निर्माणको कार्यका लागि शिक्षाका केन्द्रीय निकाय, समन्वयका लागि प्रादेशिक निकाय तथा कार्यान्वयनका लागि स्थानीय निकायलाई जिम्मेवारी प्रदान गर्नुपर्दछ । राष्ट्रिय स्तरका रेडियो, टेलिभिजनका साथै प्रादेशिक र स्थानीय निकायको समन्वयमा स्थानीय एफ. एम. र टेलिभिजनका माध्यमबाट  अन्तरक्रियात्मक ढङ्गले कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसका लागि स्थानीय निकायको माध्यमबाट विद्यालय र विद्यालयले विद्यार्थीलाई टेलिफोनको माध्यमबाट सम्पर्क गरी, सार्वजनिक सूचना जारी गरी महामारीबाट बचेर शिक्षण सिकाइमा अग्रसर गराउन सकिन्छ । त्यसको सही तरिकाबाट परामर्श र मनिटरिङ गर्नु पनि आवश्यक रहेको छ ।
के छन् त चुनौती ?
आजको विश्व परिवेश र अहिलेको अवस्थामा प्रविधिमा आधारित दूर शिक्षा प्रणाली अपनाउनुको विकल्प नरहे पनि त्यसको प्रयोग गर्न त्यति सजिलो भने छैन । हाम्रो चाहना, आवश्यकता र भावनाले प्रविधिको प्रयोग यथार्थमा बदलिन सक्दैन । यसर्थ, हालसम्म हामीले गरेका पूर्व तयारीलाई हेर्ने हो भने प्रविधिमा आधारित रहेर शिक्षा प्रदान गर्ने कार्य हाम्रा लागि निकै चुनौतीपूर्ण छ । २०७२ सालको भूकम्पपछि १०० ओटा विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्न निर्मित सूचना प्रविधि प्रयोगशालाको अवस्थाले सूचना प्रविधिमा आधारित शिक्षा कति चुनौतीपूर्ण छ भन्ने स्पष्ट पार्दछ । एक विद्यार्थी एक ल्यापटपको कुरा सपनामा सीमित भएको अवस्था हाम्रा सामु जगजाहेर छ । मन्त्रालयको प्रतिवेदनलाई आधार मान्दा १३ प्रतिशत विद्यालयमा मात्र इन्टरनेटको सुविधा छ । झन् तिनको प्रयोगको अवस्था र प्रभावकारिताको खोजी गर्ने हो भने त अवस्था झन् डरलाग्दो देखिन्छ । प्रविधिका लागि गर्नुपर्ने लगानीको अभाव, विद्यालयमा प्रविधिको विस्तार र पहुँचको अवस्था अनि त्यसको पूर्वाधार निर्माण, सरोकारवालामा (मूलतः शिक्षकमा) प्रविधि प्रयोग गर्ने ज्ञान, रुचि जस्ता कुरा पनि प्रविधिमा आधारित शिक्षाका प्रमुख व्यवधानका रूपमा रहेका छन् । यसर्थ वस्तुस्थितिको विश्लेषण नगरी हचुवाको भरमा कार्यक्रम निर्माण गरियो भने हात्तीको देखाउने दाँत जस्तै हुने निश्चित छ । कोभिड- १९ को जोखिम र उल्लिखित चुनौतीलाई मध्यनजर गर्दै मन्त्रालयले तत्कालै कार्यक्रम गर्नुको विकल्प छैन ।
अन्त्यमा
चुनौतीका जतिसुकै पहाड हाम्रा सामु भए पनि अहिलेको विश्व परिदृश्य र सङ्कटको अवस्थामा प्रविधिमा आधारित शिक्षा प्रणालीको सुरुवात गर्नुको विकल्प छैन । सङ्कटको बेला भनेर शिक्षालाई यत्तिकै छाडियो भने हाम्रो अवस्था झन् बिग्रने निश्चित छ । प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्न सकेमा सङ्कटको यस घडीमा पठनपाठन अगाडि बढाउन सकिन्छ । सबैको ध्यान केन्द्रित गरी सार्थक पहलकदमी गरी तत्काल प्रभावकारी कदम चाल्नुको विकल्प हामीसँग छैन ।
लेखक शिक्षा सेवा अन्तर्गत अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।


No comments:

Post a Comment

shivalayaschool2017@gmail.com