पाठ्यसामग्रीका
रूपमा बालसाहित्यको उपयोग
- रमेशचन्द्र घिमिरे
`बालसाहित्य´ शब्दको
व्युत्पत्ति हेर्दा यसमा `बाल´ तथा `साहित्य´ गरी दुई भिन्नाभिन्नै अर्थबोध गराउने तत्सम शब्दको प्रयोग भएको छ । `बालकको
साहित्य´ भन्ने पदावलीमा तत्पुरुष समास भई बालसाहित्य शब्दको निर्माण भएको हो
।
बाल या बालक भन्नाले सामान्यतया युवावस्था सुरु नहुँदै सोह्र
वर्षमुनिको अवस्थामा रहेका बालबालिका भन्ने बुझिन्छ ।
उमेर अनुसारको वर्गीकरण
गर्दा पाँच वर्षसम्मकालाई शिशु
,
त्यसपछि बाह्र वर्षसम्मकालाई बालक र सोह्र
वर्षमुनिकालाई किशोर भन्ने प्रचलन छ । आखिर वर्गीकरण जेजस्तो रूपमा गरिए पनि बाल
या बालक भन्नाले यी तीनवटै अवस्था भन्ने बुझ्नुपर्दछ । साहित्य भन्नाले मानिसको
सिर्जनशील प्रतिभाद्वारा लेखिने वाङ्मयको एक विशिष्ट विधालाई जनाउँछ । यसरी हेर्दा
बालसाहित्य भन्नाले बालकको साहित्य भन्ने बुुझिन आउँछ ।
वर्तमान शिक्षा प्रणाली धेरै हदसम्म बाल मनोवैज्ञानिक भएकाले अहिलेका पाठ्यसामग्रीमा बालसाहित्यलाई पनि राम्रै स्थान दिइएको भान हुन्छ तर प्राचीन कालको शैक्षिक प्रणालीमा यस कुराको अभाव थियो ।
अर्को शब्दमा भन्नुपर्दा
बालबालिका स्वयम्ले कलमका माध्यमले आफ्नो प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले लेखन
शैली बढाउन एवम् बालबालिकाका लागि प्रौढले बालकै भनेर लेखेको साहित्य नै
बालसाहित्य भन्ने बुझिन्छ । समग्रमा भन्दा बालबालिकाले मनोरञ्जन प्राप्त गर्ने उद्देश्यले
पढ्ने र बुझ्ने रोचक एवम् मनोवैज्ञानिक साहित्य बालसाहित्य हो । यसरी हेर्दा
बालसाहित्य बालबालिका तथा प्रौढ साहित्यकारहरू दुवैले लेख्ने गरेको पाइएको छ तर यस
लेखमा प्रौढ साहित्यकारद्वारा सिर्जित साहित्यलाई नै केन्द्रमा राखी
पाठ्यसामग्रीका रूपमा हुने त्यसको उपयोगिताका बारेमा चर्चा गरिन्छ ।
अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा मात्र नभई नेपाली साहित्यमा पनि
बालसाहित्यको प्रवेश पाठ्यसामग्रीका माध्यमबाट हुन सकेको हो । बालसाहित्यसँग
सम्बन्धित सामग्रीहरू बाल मनोविज्ञान तथा बाल रुचि अनुकूलतामा आधारित हुन्छन् ।
बालसाहित्यका लागि जस्तै पाठ्यसामग्रीका लागि पनि यी विशेषताहरूको अनिवार्यता
रहन्छ । बालसाहित्यको रोचक प्रयाग भएकै कारणले बाल पाठ्यसामग्री पनि बाल उमेर
समूहका विद्यार्थीहरूका लागि रोचक, स्तरीय र पठनीय बन्न
पुग्छन् । तसर्थ विद्यालयमा पढाइने सामग्री रुचिपूर्ण, स्तरीय र
बाल मनोवैज्ञानिक होस् भन्नाका लागि पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोग
गराइनु निकै आवश्यक हुन्छ । बालबालिकामा यसरी प्राप्त हुने शिक्षामा मनोरञ्जक
खुराक मात्र होइन नैतिक सन्देश पनि घुसेको हुन्छ र यसबाट बालबालिकाले
पाठ्यपुस्तकीय शिक्षा तथा बालसाहित्यको रसास्वादन समेत एकैचोटि प्राप्त गर्न
सक्दछन् ।
वर्तमान शिक्षा प्रणाली धेरै हदसम्म बाल मनोवैज्ञानिक भएकाले अहिलेका
पाठ्यसामग्रीमा बालसाहित्यलाई पनि राम्रै स्थान दिइएको भान हुन्छ तर प्राचीन कालको
शैक्षिक प्रणालीमा यस कुराको अभाव थियो । शिक्षा नै धर्म हो र धर्म नै शिक्षा हो
भन्ने मान्यता बोकेको त्यस युगमा व्यावहारिक ज्ञानप्राप्तिका लागि भन्दा पनि
धर्मप्राप्तिका लागि शिक्षा आर्जन गरिन्थ्यो । ‘धावन्ती खेती, सेवन्ती
राजा र घोकन्ती विद्या’ लाई महत्व दिइने हुँदा त्यतिखेरको शिक्षा घोकन्ते विद्यामा आधारित
हुन्थ्यो । गुरुकुलीय परम्परा अनुसार धर्म गुरुले नै अध्यापन गराउने र संस्कृतका
जटिल व्याकरणलाई नै पाठ्यपुस्तकका रूपमा उपयोगमा ल्याइने हुँदा तत्कालीन प्राथमिक
तहका उमेर समूहका बाल पाठकहरूले व्यवहारोपयोगी र बाल मनोविज्ञानमा आधारित शिक्षा
ग्रहण गर्न सकेका थिएनन् । निश्चित पाठ्यक्रम तथा पाठ्यपुस्तकको अभाव रहनु र
पाठ्यसामग्रीका रूपमा कौमुदी व्याकरण लगायत रुद्री, चण्डी आदि घोक्न लगाइनुले
विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता ग्रहण गर्न पाउने मौका पनि प्राप्त हुँदैनथ्यो
। बुझेर भन्दा पनि नबुझी–नबुझी पढ्नुपर्दथ्यो । वास्तवमा बालबालिका वा प्राथमिक तहका उमेर
समूहका लागि त्यस्तो शिक्षा बोझका रूपमा रहन जान्थ्यो अनि मनोविज्ञानका हिसाबले
पनि प्रतिकूल देखिन्थ्यो । नेपालको सन्दर्भमा यस परिपाटीको अन्त्य गर्दै
बालसाहित्य र बाल पाठ्यपुस्तकको मिश्रित थालनी गर्ने काम राजा जय पृथ्वीबहादुर
सिंहको उदयसँगै वि.सं. १९५८ बाट भएको हो ।
बालकेन्द्रित शिक्षण सिकाइका निम्ति सिकारुमा यथेष्ट रुपमा जिज्ञासा पैदा गरी विषयवस्तु र सिकारुबिच भावनात्मक सम्बन्ध जोड्दै समय बितेको पत्तो नै नहुने किसिमले सिकाउनु पर्ने कुरा सहजै सिकाउनका लागि बाल साहित्यलाई पाठ्य सामग्रीका रुपमा उपयोग गर्न सकिन्छ ।´
विद्यार्थीले पढ्ने शिक्षा सरल, सरस, सुबोध्य
र सम्प्रेष्य हुनुका साथै बाल मनोविज्ञानमा पनि आधारित हुनुपर्दछ । त्यसो त
वर्तमान पाठ्यपुस्तकलाई बाल मनोवैज्ञानिक बनाउने प्रयास गरिएको छ र पनि चर्चा
गरिएका पाठ्यसामग्रीहरूलाई विद्यार्थीहरूले रहरले भन्दा पनि करले पढ्नुपर्ने
स्थिति देखिन्छ । पाठ्यपुस्तकको घेरा नाघेर पढ्न पाइएको सामग्री उनीहरूका लागि जति
रोचक हुन्छ, पाठ्यपुस्तकमै रहेका सामग्री त्यति रुचिकर नहुन सक्छन् ।
पाठ्यपुस्तकको पढाइ परीक्षामुखी हुन्छ भने बाह्य पुस्तकको पढाइ स्वतन्त्र र ऐच्छिक
हुन्छ । पाठ्यपुस्तकको पढाइ विद्यार्थीका लागि बाध्य भएर पढिने पढाइ हो । त्यसैले
विद्यार्थीहरूका लागि मनोरञ्जनात्मक पढाइको आवश्यकता परेको हुन्छ । आफ्नो
विद्यालयको गहन अध्ययन र गृहकार्यका बोझले जब विद्यार्थी थाक्छ तब उसलाई अलिकति स्वच्छ
मनोरञ्जनको आवश्यकता पर्दछ ।
यही आवश्यकता पूर्तिका लागि विद्यार्थीहरूले
मनोरञ्जनमूलक पाठ्येतर बालसाहित्यिक सामग्रीहरूको खोजी गर्दै पढ्न थाल्दछन् ।
यस्ता पाठ्यसामग्रीहरूमा प्रत्यक्ष रूपमा मनोरञ्जन दिन खोजिए पनि अप्रत्यक्ष रूपमा
नैतिक सन्देशको सम्प्रेषण गरिएको हुन्छ र यिनले विद्यार्थीलाई बराल्ने वा गलत
बाटामा लैजाने काम गरेनन् भने त्यस्ता खाले पाठ्यसामग्रीहरू बालपाठकहरूका लागि
निकै उपयोगी र पठनीय हुन जान्छन् । अर्को कुरा पाठ्यपुस्तकको एकोहोरो रटाइले मात्र
पढाइमा पूर्णता हुँदैन र शिक्षार्थीका लागि रुचि अनुकूल पनि हुन सक्दैन । यसो
हुनाले उनीहरूलाई बाल मनोविज्ञान र बालरुचि अनुकूलतामा आधारित मनोरञ्जक शिक्षाको
आवश्यकता परेको हो । भाषाको मनोरञ्जनात्मक सिकाइमा विद्यार्थीहरू बढी रमाउँछन् ।
मनोरञ्जनका लागि पढ्दा पढाइमा गति बढ्नुका साथै बोध क्षमताको विकास हुन्छ । पाठ्यपुस्तकका
पाठमा मात्र सीमित गर्दा उनीहरू दिक्क मान्न सक्छन् । पाठ्यपुस्तकका पूरक
सामग्रीका रूपमा नयाँ र नौला सामग्री उपयोग गर्दा उनीहरूको भाषा सिकाइको आयाम पनि
फराकिलो हुन पाउँछ । बदलिँदो वर्तमान परिवेशमा ज्ञान–विज्ञानका
कुराहरूसँग साक्षात्कार गराउनुका साथै मनोरञ्जक सामग्रीहरू प्रदान गरी उनीहरूको
पढाइको विकास गराउनका लागि बालसाहित्य निकै आवश्यक रहेको छ । खेल–खेलमै
आनन्द लिँदै अनुभव, ज्ञान र सूचनालाई आत्मसात् गरी व्यक्तित्व निर्माण र भाषिक सीपको
विकास गर्न विद्यार्थी जीवनमा बालसाहित्यको विशेष भूमिका रहने हुँदा शिक्षक र
अभिभावकहरूद्वारा आफ्ना विद्यार्थी एवम् बालबालिकाहरूका लागि राम्रो बालसाहित्यको
चयन गर्नुपर्ने कुरामा बालसाहित्यका अध्येता एवम् समीक्षक चूडामणि बन्धुले जोड
दिएका छन् । बालसाहित्यको अध्ययनले बोध क्षमताको विकास गराउनुका साथै शब्दभण्डारको
समेत विकास गराउँछ । बालसाहित्यका विभिन्न विधाहरूलाई सस्वर पढाइका लागि उपयोगमा
ल्याउन सकिन्छ । बालसाहित्यका विभिन्न विधाहरूमध्ये बालकविता, बालकथा, बालनाटक, बालगजल, बालउपन्यास, बालोपयोगी
जीवनी आदि पर्दछन् । बालकविता पढेर शिक्षार्थीहरूलाई लयबोधको थप अभ्यास गराउन सकिन्छ
भने बालनाटकका संवादबाट कथ्य भाषाका नजिक पुगेर उपयुक्त गति, यतिका
साथ हाउभाउ मिलाएर, चिन्हको ख्याल गरेर र भावअनुसार पढ्ने अभ्यास गराउन सकिन्छ । त्यस्तै
गरेर सस्वर वाचन र द्रुत पठनका लागि विद्यार्थीहरू बालकथा विधामा रमाउँछन् ।
पाठ्यपुस्तकमा विभिन्न विधाका पाठहरू सीमित हुन्छन् । तिनको थप र विविध ढङ्गले
अभ्यास गराउन बालसाहित्यको उपयोग गर्नु आवश्यक देखिन्छ । बालसाहित्यको उपयोगका
लागि मुना, सुनकेस्रा, बालक, कोपिला, नौलो सुनगाभा, चिचिला, बालसाथी, बालउदय, जूनकीरी, बालकाेसेली जस्ता बालपत्रिकाहरू तथा पाठ्यक्रम विकास केन्द्रद्वारा
प्रकाशित बाल सन्दर्भ सामग्रीहरू विद्यार्थीलाई पढ्न लगाउनु राम्रो हुन्छ । यसबाट
बालबालिकाहरूमा नैतिक चेतना,
सामाजिक मूल्य मान्यता तथा मानवीय संवेदनाको
विस्तार गर्नमा बालसाहित्यको विशेष भूमिका रहन्छ । आफूले पढिरहेको पाठ्यपुस्तकबाट
पठनबोधको अभ्यास गराउँदा विद्यार्थीहरूमा कुनै जिज्ञासा र उत्सुकता रहँदैन ।
बालसाहित्यको उपयोगले विद्यार्थीहरूमा जिज्ञासा र उत्सुकता सञ्चार गराउँछ र उक्त
साहित्य राम्ररी पढ्छन् । रुचिपूर्ण नयाँ विषयवस्तु दिएर पठनबोधको अभ्यास गराउँदा
उनीहरू जिज्ञासु त हुन्छन् नै साथै अभ्यासमा विविधता ल्याउन पनि सजिलो हुन्छ । अनि
विद्यार्थीहरूमा पुस्तकालय गई आफूलाई मन पर्ने सामग्री खोजतलास गरी आफै पढ्ने
बानीको विकास पनि हुँदै जान्छ ।
पाठ्यसामग्रीका रूपमा बालसाहित्यको अध्ययनलाई उपयोगमा ल्याउनु पर्ने
कुरामा बालसाहित्यका स्रष्टा,
अध्येता एवम् लमजुङे साहित्यकारद्वय गोविन्दबहादुर
कुँवर र विजयराज न्यौपानेको टिप्पणी यस्तो रहेको छ — “ बालबालिकालाई स्वस्थ
मनोरञ्जन प्रदान गर्न, पढाइमा अभिरुचि जागृत गराउन बालशिक्षाको सन्दर्भमा बालसाहित्यको
प्रयोग हुनुपर्छ । मीठामीठा बालगीत, बालकविता, बालकथा, बालउपन्यास, बालनाटक, आदि पढेर
स्वस्थ मनोरञ्जनका साथै आनन्दको अनुभूति गर्न सक्दछन् र पढाइमा जागृत हुन्छन् ।
पढाइमा अभिरुचि जाग्नाले उनीहरू अध्ययनशील, लगनशील बन्न पुग्दछन् ।
यस्तो अध्ययनशीलता र लगनशीलताबाट उनीहरूको पढाइको स्तर पनि उठ्न सक्दछ र उनीहरूको
सर्वाङ्गीण व्यक्तित्वको विकास सम्भव हुन्छ ।”
बच्चाभित्र रहेको घोकन्तेबाहेकको प्रतिभा उजागर हुन सक्ने
बालसाहित्यिक सामग्रीलाई नै विद्यार्थीको वास्तविक पाठ्यसामग्रीका रूपमा लिनुपर्ने
धारणा शिवालय मा.वि. कास्कीका प्र. अ. एवम् साहित्यकार रुपिन्द्र प्रभावी जोशीको
रहेको छ । उहाँको मान्यता के छ भने बाल साहित्य त सन्दर्भ सामग्री मात्र होइन, पाठ्यक्रमअन्तर्गतकै
पाठ्य सामग्री हुनुपर्छ । जसरी स्थानीय विषयको पढाइ हुन्छ, वा भनौं-
विश्व विद्यालयीय तहमा कुनै साहित्यकारका पुस्तकहरू वा कुनै सिङ्गो साहित्यिक
किताबको अध्ययन गर्ने व्यवस्था भए जस्तै ।
बालसाहित्य
लेखन र प्रशिक्षणमा लामो अनुभव सँगाल्दै आउनुभएका पूर्व शिक्षक एवम्
बालसाहित्य क्षेत्रका दीर्घ साधक उद्धवप्रसाद प्याकुरेलको यस सम्बन्धमा यस्तो
धारणा रहेको छ : `अाैपचारिक शिक्षाकाे उद्देश्य बालबालिकाहरूकाे चाैतर्फी विकास गर्न
सहयाेग पुर्याई स्वयम् व्यक्ति, उसकाे घर
परिवार, समाज र राष्ट्रका निमित्त अनुशासित, सक्षम नागरिक उत्पादन गर्नु
हाे । जसका निमित्त सिकाइ उपलब्धिसहितकाे शैक्षिक याेजना पाठयक्रम निर्माण
भएकाे हुन्छ । बालबालिकाहरूलाई पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुका सिकाइ
उपलब्धि हासिल गराउन पाठ्यपुस्तक तयार गरिएकाे हुन्छ जुन पाठ्यपुस्तकाे प्रयाेग
एउटा अांशिक विधि र सामग्री हाे तर पूर्ण होइन । पाठ्यक्रमका सिकाइ उपलब्धि हासिल
गराउने पहिलाे र महत्वपूर्ण पक्ष भनेकाे पठनसिप विकास हाे । जसका लागि बालसाहित्य
सन्दर्भ सामग्री महत्वपूर्ण हुन्छ जुन सामग्री बालबालिकाकाे रुचि क्षमताअनुसार
हुनुपर्दछ ।´
तारापुञ्ज बोर्डिङ स्कुल, पोखरामा शिक्षण पेशामा
समेत आबद्ध बालसाहित्यकार सरस्वती श्रेष्ठ `सरू´ पाठ्यसामग्रीका
रूपमा बालसाहित्यलाई उपयोगमा ल्याउन सकिने कुरामा जोड दिँदै भन्नुहुन्छ -`हामी
हाम्रो बाल्यकालमा पनि हाम्रा अभिभावकबाट कथा ,कविता सुन्दै हुर्किएका हौँ
। पाठ्यपुस्तकमा पनि राम्राराम्रा कथा कविता पढेर आयौँ । त्यसैले हरेक
पुस्ताका बालबालिकालाई बालसाहित्य अत्यन्त उपयोगी हुन्छ । बालसाहित्यले
बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै कौतुहलता र जिज्ञासा बढाउँछ ।´
सरस्वती माध्यमिक विद्यालय नेपालगञ्जकी शिक्षिका एवम् बालकथाकार
ललिता शर्मा पनि पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोग गर्न रमाउनुहुन्छ ।
उहाँका अनुसार पाठ्यसामग्री विद्यार्थीको रुचि, उमेर र स्तर अनुसारको हुन
जरुरी छ । साना उमेरका नानीहरूलाई कक्षामा टिकाइराख्नु चानचुने कुरो होइन।
पाठ्यपुस्तकमा समावेश गरिएका पाठ्यसामग्रीहरू उपयुक्त र सान्दर्भिक हुँदाहुँदै पनि
पूर्णचाहिँ हुन सकेको छैनन्,
साना नानीहरू धेरै खोजी गर्ने स्वभावका हुन्छन्।
थोरै कुरामा उनीहरू रमाउँदैनन् । पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोगिताका
सन्दर्भमा शिक्षिका शर्माले सामान्यतया पाठ्यपुस्तकमा इतिहास, भूगोल, कला, साहित्य, सिप, संस्कार, संस्कृति, आर्थिक, सामाजिक
मूल्य मान्यता परस्परा, जनजीवन, पहिरन आदिका बारेमा सम्भावित विधाहरू कथा, कविता, निबन्ध, प्रबन्ध, संवाद
आदिद्वारा विद्यार्थीहरूलाई ज्ञान सिप दिन खोजिएको हुन्छ तर विद्यार्थीहरू
पाठ्यपुस्तकमा भएका पाठ्यसामग्रीबाट सन्तुष्ट हुन र तृप्त
हुनसकेका छैनन् भन्दै सचित्र र बालोपयोगी सन्दर्भ सामग्री आवश्यक पर्ने धारणा
राख्नुहुन्छ ।
विद्यालयमा अध्यापनका क्रममा पाठ्यपुस्तकलाई जस्तै बालसाहित्यिक
सन्दर्भ सामग्रीलाई समेत महत्त्व दिने बालज्योति मा.वि. बाङ्ग्रे लमजुङका शिक्षक, गजलकार
एवम् बाल साहित्यानुरागी रमेश लामिछाने `अविरल´ को
धारणाचाहिँ यस्तो रहेको छ : `पाठ्यसामग्रीले सिकाइलाई लक्षित उद्देश्यमा पुर्याउन मुख्य खुराकका
रूपमा कार्य गरिरहेको हुन्छ । अझ बाल सिकाइका सन्दर्भमा बालसाहित्यलाई पाठ्य
सामग्री बनाउने हो भने त्यसले त उक्त खुराकलाई झन् रसिलो, स्वादिलो
र सन्तुलित रूपमा प्रस्तुत गर्दछ । बालकेन्द्रित शिक्षण सिकाइका निम्ति सिकारुमा
यथेष्ट रुपमा जिज्ञासा पैदा गरी विषयवस्तु र सिकारुबिच भावनात्मक सम्बन्ध जोड्दै
समय बितेको पत्तो नै नहुने किसिमले सिकाउनु पर्ने कुरा सहजै सिकाउनका लागि बाल
साहित्यलाई पाठ्य सामग्रीका रुपमा उपयोग गर्न सकिन्छ ।´
समग्रमा भन्दा भाषा सिकाइलाई रुचिपूर्ण तथा सहज बनाउन, मनोरञ्जन
प्रदान गर्न, शब्द भण्डार र बोध क्षमताको विकास गराउन, पठनकार्यप्रति
अभिरुचि जागृत गर्न, ज्ञानविज्ञानका कुरासँग साक्षात्कार गराउन बालसाहित्यका विभिन्न
विधासँग परिचित गराउन, द्रुत पठनको अभ्यास गराउन तथा स्वाध्ययनको बानी बसाल्न समेत
पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोग गराउनु निकै आवश्यक देखिन्छ ।
सन्दर्भ सामग्री -
१. कृष्णप्रसाद पराजुली, भाषाको माया, (काठमाडौँ
: रत्न पुस्तक भण्डार, २०४४)
२. खगेन्द्रप्रसाद लुइटेल र अरु (सम्पा.), नेपाली
कवि र कविता, (काठमाडौँ : विभु ऋभु प्रकाशन, २०५७)
३. भानुभक्त पोखरेल,
सिद्धान्त र साहित्य, (विराटनगर
: श्याम पुस्तक भण्डार, २०४०)
४. टङकप्रसाद न्यौपाने, साहित्यको रूपरेखा, (काठमाडौँ
: साझा प्रकाशन, दोस्रो संस्करण,
२०४९)
५. अच्युतशरण अर्याल, नेपाली बालसाहित्यको
रूपरेखा, (स्याङ्जा : डिल्लीप्रसाद अर्याल, २०४५)
६. प्रमोद प्रधान,
नेपाली बालसाहित्यको इतिहास, (काठमाडौँ
: विवेक सिर्जनशील प्रकाशन प्रा.लि., तेस्रो संस्करण, २०६९)
७. जनकप्रसाद हुमागाईं, नेपाली बालसाहित्य, (काठमाडौँ
: सुनकोसी साहित्य प्रतिष्ठान,
२०५६)
८. सीता कटवाल,
नेपाली बालकविताको अध्ययन, (अप्रकाशित
स्नातकोत्तर शोधपत्र, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, २०५०)
९. विनयकुमार कसजू (सम्पा.), प्रज्ञा बाल साहित्य
विवेचना, (काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान, २०७४)
१०. डा. ध्रुवकुमार घिमिरे,बालसाहित्यको विधागत
सिद्धान्त र नेपाली बालसाहित्य,
(काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान, २०७४)
११. रमेशचन्द्र घिमिरे, भुर्र चरी, (अप्रकाशित
स्नातकोत्तर सिर्जनापत्र, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, २०५८)
१२. ईशानेश्वर क्याम्पस स्मारिका, भोर्लेटार लमजुङ (२०७५)
१३. नौलो सुनगाभा द्वैमासिक, बेसीशहर लमजुङ (पौष–माघ,२०६३)
– क्याम्पस प्रमुख, ईशानेश्वर क्याम्पस
भोर्लेटार, लमजुङ
धन्यवाद हेड सर
ReplyDeleteस्वागतम सर । यस्तै मीठा र उपयोगी रचना प्रकाशन गरिरहन पाऊँ ।
ReplyDelete