सिर्कुतानमा शिक्षाको खोजीको प्रारम्भिक प्रयास
-
कृष्णहरि गौतम
२०१७ सालभन्दा पहिले यहाँको शिक्षा आर्जन घर-घरमा आफ्नो बा-आमा
तथा दाजु-भाइबाट सिक्नु बाध्यता थियो, कुनै पाठशाला थिएनन्,
न कुनै औपचारिक अध्ययन
केन्द्र तर दुर्गा चण्डी तथा वेद आदिको
अध्ययन घर घरमा र कुनै धार्मिक कार्यक्रममा सामूहिक रूपमा गर्ने चलन थियो । कुनै धार्मिक कार्यक्रममा
धार्मिक पाठ गर्ने परम्परा थियो र त्यहाँ
नै पाठ गर्न सक्नेहरूको जमघट हुन्थ्यो र यही नै
चलिरहेको थियो । अत: गुरु पुरोहित तथा केही स्वाध्ययन गरेका विद्वान्हरूबाट नेपाली अध्ययन केही अघि बढ्यो ।
२०१७ पछि
गाउँ-गाउँमा शिक्षाको आवश्यकता महसुस भएको बुझिन्छ । यसका लागि पढ्ने विद्यार्थी र शिक्षक दुवैको
जागरण आवश्यक थियो । यसको असर सिर्कुतानमा पनि नपरेको
हैन तर शिक्षक पाउन त्यति सजिलो थिएन । प्रारम्भिक शिक्षाका लागि घर घरमा चलाउन सम्भव थिएन किनकि बहुसङ्ख्यक परिवारमा पढाउन सक्ने जनशक्ति थिएन ।
प्रारम्भिक शिक्षा पाएकाहरूलाई आगाडि बढ्ने मौका थिएन । अतः हामी केही (रामकृष्ण ओझा, गणपति ओझा र कृष्णहरि गौतम) अध्ययनको खोजीमा बाह्रपिर्के (देउपुर) को स्कुलमा पनि
भर्ना भई अध्ययन गर्यौं तर यो त्यति सजिलो थिएन ।
जमदार
इमानसिंह गुरुङ (माझकोट), रुद्रप्रसाद सुवेदी (डाडुको छोरा),
ईश्वरीप्रसाद ओझा (धारापानी) हरूले पढाउनुभयो तर नियमित हुन सकेको थिएन ।
२०१८ सालको
कुरा हो, यस्तै एक दिन बिहानै, एक जना भोटो र कछाड लगाएको मानिस हाम्रो घरमा अकस्मात देखा परे । उनी आत्तिएको देखिन्थे । बाले भित्र
बोलाउनुभयो र सोधखोज गर्न थाल्नुभयो । उनीसँग कुरा हुँदै जाँदा थाहा
भयो कि उनी हाम्रा नातेदार र काङ्ग्रेसको लमजुङ, दुराडाँडाका नेता / सक्रिय कार्यकर्ता रहेछन् । दुराडाँडा देउतापानीका कार्यकर्ता उनी पञ्चायती व्यवस्था सुरु भएपछि सरकारले
गाउँमा पार्टीका कार्यकर्तालाई पक्राउ सुरु गरी उनको घरमा छापा मारेपछि बारीमा काम गर्दा गर्दै भागी हिंडेका रहेछन् ।
यस्तैमा हाम्रो घरमा आइपुगे । उनीसँग न अरु लुगा थियो न पैसा नै । कुरा हुँदै
जाँदा उनी तुरुन्त गाउँ नफर्किने सोच गरेर केही समय यहीँ बस्ने कुरा
बताए । यत्तिकैमा हाम्रो बासँग उनको कुरा
हुँदा स्कुलमा पढाउन पाए हुन्थ्यो भन्ने इच्छा गरे । बाले स्कुल समिति (खास गरी मुखिया हस्तवीर गुरुङ) सँग सरसल्लाह गरी पढाउन लगाउने निर्णय भयो । त्यसका लागि उनका लागि कपडाको खाँचो भयो र तुरुन्त काइँला साहुको
पसलबाट कपडा लिई तुरुन्त कमेज र सुरुवाल सिलाउन
कबिरे दाइलाई दिने कुरा भयो । बस्न को लागि पेलुङ्गा (पुच्छार घर) को परिवारसँग बस्ने कुरा
भयो । भोलिपल्टैबाट उनको पढाउने काम सुरु भयो र पहिलोपल्ट स्कुलले शिक्षक पायो ।
तर यो धरै
समय टिकेन । ठ्याक्कै समय याद भएन तर केही हप्तामा नै हामी सबै विद्यार्थीको सामुन्ने प्रहरी आएर उनलाई पक्राउ गरेर लग्यो,
स्कुललाई पुनः शिक्षकको खाँचो भयो ।
मानबहादुर कार्की
समय यकिन भएन, विद्यालयमा स्थायी र योग्य शिक्षक नभएकोले गुणस्तरीय पढाइ हुन
नसकेकोमा सम्पूर्ण बस्तीमा सन्तोष हुन सकेन । बालाई पनि सन्तोष भएन, अब पोखरा र पर्यो भने काठमाडौँ गएर प्रयास गर्ने निधो गरी बा
२०१८ मङ्सिरमा पोखरा र आवश्यक परे त्यतैबाट जहाजबाट काठमाडौँ
लाग्ने भनी हिँड्नुभयो । अथक प्रयासबाट शिक्षा मन्त्रालयबाट एक जना शिक्षकको दरबन्दी
स्वीकृत भयो र शिक्षा मन्त्रालयले तालिम प्राप्त
दाङ्सीमराङ निवासी मानबहादुर कार्कीलाई खटायो ।
त्यति खेर पाँच कक्षामा हामी ३
जना (रामकृष्ण ओझा, गणपति ओझा र म कृष्ण हरि गौतम)
मात्र थियौं । ६ जना नपुगी कक्षा खोल्न
नपाउने नियमले गर्दा अरु ३ जना खोज्नुपर्यो । यसका लागि पँधेरामाथिको दाइ, हाम्रो घर तल मङ्गलप्रसाद सुवेदीको माइलो छोरा र ठुलाघरे जेठाको छोरा हरिकिरण ओझा गरी ३ जनाको शुल्क तिरी भर्नामा नाम
लेखी ६ जना पुर्याएर हामीलाई पढ्ने अवसर खोलिएको थियो । रामकृष्ण र गणपति ६ कक्षा पढ्न भोर्लेटारतिर लाग्नुभयो र म २०२० साल पौषमा
चितवनतिर लागें । चितवन पुगेपछि चितवन हाइस्कुल, नारायणघाट
(हाल चितवन मावि भरतपुर ) भर्ना भएँ ।
No comments:
Post a Comment
shivalayaschool2017@gmail.com