नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Monday, September 13, 2021

गाउँमा स्कुल खुले, सहरमा अझै बन्द

सन्तोष पोखरेल

पोखरा । कोरोना  भाइरस संक्रमणले थलिएको शैक्षिक क्षेत्रले बिस्तारै गति लिन थालेको छ । संक्रमणका कारण महिनौंदेखि रोकिएको विद्यार्थीको भौतिक उपस्थितिको पठनपाठन सुरु हुन थालेको छ । ग्रामिण भेगका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । सहरी क्षेत्रमा भने अझै पनि अनलाईन मार्फत नै पठनपाठन चलिरहेको छ ।

 कास्कीका ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको उपस्थितिमा पठनपाठन भईरहेको त्यहाँका स्थानीय तहले बताएका छन् । रुपा गाउँपालिका–१ स्यास्त्रीको कालिका माविमा भौतिक रुपमा पठनपाठन सुरु भएको छ । सोमबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास खनालले जानकारी दिए । कालिका माविमा १० कक्षासम्म पठनपाठन हुन्छ । यो विद्यालयमा अहिले १७० जना विद्यार्थी छन् । 

 संक्रमणका कारण लामो समयदेखि विद्यार्थीको भौतिक उपस्थिति हुन सकेको थिएन । बल्ल अहिले संक्रमण कम भएपछि विद्यार्थीलाई विद्यालयमै बोलाएर पढाउन थालेका छौ,’ उनले भने, ‘विद्यालयमा पढ्न आउन पाउँदा विद्यार्थी पनि खुसी छन ।’ यसअघि विद्यार्थीलाई अनलाईन र टोल शिक्षामार्फत पठनपाठन गराइएको थियो । 

 रुपा गाउँपालिका–२ को शिवालय माविका प्रधानाध्यापक रुपिन्द्र जोशीका अनुसार आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन चलिरहेको छ । ‘आइतबारदेखि हामीले विद्यार्थीलाई विद्यालयमै बोलाएका छौ । विद्यालय आउन पाउँदा विद्यार्थी खुसी छन,’ जोशीले भने । शिवालय माविमा नर्सरी देखि १२ कक्षासम्म नै पठनपाठन छ । दुईसय जना विद्यार्थी विद्यालयमा छन् । 

 विद्यार्थीको भौतिक उपस्थिति सम्भव नहुँदाको अवस्थामा अनलाईनमार्फत पढाएका थियौ,’ उनले भने । जोशीका अनुसार विद्यालयमा साउन पहिलो सातादेखि पालैपालो विद्यार्थीलाई विद्यालमै बोलाएर पठपाठन सुरु गरेको भएपनि प्रशासनले रोक्नु भनेपछि पुन अनलाइन मार्फत पढाउन थालिएको थियो । ‘अहिले गाउँपालिकाले नै खोल्ने भनेपछि विद्यालय खोलेका छौ । विद्यार्थी उत्साही भएर पढ्न आएका छन,’ उनले भने । 

रुपा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख सन्दीप पौडेलका अनुसार रुपाका अधिकांश विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ  । रुपा गाउँपालिकामा ३० विद्यालय छन् । परिस्थिति अनुसार वडा कार्यालयसँग समन्वय गरेर विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न थालिएको पौडेलले बताए । ‘वडा कार्यालयसँग पनि विद्यालयले समन्वय गरेका छन् । विद्यार्थीलाई अब विद्यालयको नजिक ल्याउने पहल भईरहेको छ,’ उनले भने । 

अन्नपूर्ण गाउँपालिकाका शिक्षा शाखाका अधिकृत बलराम भुगाइका अनुसार त्यहाँका विद्यालयमा पनि पठनपाठन सुरु भईसकेको छ । कास्की प्रशासनले साउन ३१ गतेसम्म निषेधाज्ञा जारी राखेकोले पनि विद्यालय खुलमखुला रुपमा खुलाउन अन्योल भएको केही स्थानीय तहको भनाई छ । ‘८ देखि १०कक्षासम्म अनलाइनबाट चलेको थियो । आठकक्षा भन्दा तलका विद्यार्थी पालैपालो विद्यालयमा आएर पढेका थिए,’ भुगाइले भने, ‘अब भने सबै विद्यार्थीले भौतिक उपस्थितिमा पढ्न थालेका छन् ।’

अन्नपूर्ण गाउँपालिकामा ५ निजी र ५२ सामुदायिक गरि ५६ विद्यालय छन् । ती सबै विद्यालय संचालन भईरहेको उनले बताए । ‘गाउँमा भौतिक उपस्थिति सहज पनि छ । सहरमा भने विद्यार्थीको संख्या केही बढी हुने भएकोले भौतिक उपस्थितिमा केही कठिनाई हुन सक्छ,’ उनले भने, ‘गाउँका विद्यालयमा विद्यार्थी संख्या कम हुँदा भौतिक उपस्थिति सहज हुने गरेको छ ।’

पोखरा महानगरपालिकाले भने सहरभित्रका विद्यालयमा केहीदिनभित्र विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने योजना बनाएको छ । ग्रामिण क्षेत्रमा भने विद्यार्थीको उपस्थितिमै पठनपाठन सुरु भएको महानरको शिक्षा महाशाखाले बताएको छ । महानगरका शिक्षा महशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार विद्यालय खोल्नेबारे करिब एकैखालको मत छ । ‘असोज पहिलो सातादेखि सहरभित्रका विद्यालय खुलाउने योजना हो । महानगर भएपनि गाउँतिरका विद्यालयमा विद्यार्थीको उपस्थितिमै पढाई सुरु भईसकेको छ,’ आचार्यले भने, ‘असोज पहिलो सातादेखि सहरका सबै विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सुरु गर्ने लक्ष्य हो ।’

स्थानीय प्रशासनको निषेधाज्ञा रहिरहेकोले गाउँमा खुलेका विद्यालयले आधिकारिकता नपाएको उनले बताए । ‘दसैंअघि भौतिक उपस्थितिमा पढाई सुरु गर्ने र दसैंपछि पूर्ण रुपमा पठनपाठनलाई गति दिने लक्ष्य हो,’ उनले भने, ‘ठुला व्यापारिक मलमा मान्छेको भीडभाड हुँदा संक्रमण नबढ्ने तर, विद्यालयमा विद्यार्थी भेला गराउँदा संक्रमण बढ्छ भन्नु उत्तिसारो उपयुक्त नहुन सक्छ । त्यसैले अहिले संक्रमण कम भएको मौका पारेर पठनपाठन सुरु गर्ने लक्ष्य हो ।’

नागरिक न्युजका लागि सन्तोष पोखरेलद्वारा लिखित समाचार साभार गरिएको

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com