नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Monday, April 27, 2020

असार १५ सम्म एस. ई. ई. हुन सके शैक्षिक सत्र प्रभावित हुँदैन : शिक्षा मन्त्री पाेखरेल (भिडियोसहित)

पाेखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दी खुकुलो भए पनि सबैभन्दा अन्तिममा खुल्ने क्षेत्र भनेको विद्यालय नै रहेको बताएका छन् । २५ गतेपछि नतिजा प्रकाशनको क्रम अघि बढ्ने र त्यसको १ हप्तापछि भर्ना प्रक्रिया अघि बढ्ने मन्त्री पोखरलले बताए ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, पोखरा महानगर समितिले अनलाइनमार्फत् सञ्चालन गरिरहेको प्रविधिमैत्री शिक्षण प्रशिक्षण कार्यक्रमको दसौँ दिनको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस वर्षको एस. ई. ई. राष्ट्रिय परीक्षा बोर्डमार्फत् नै सञ्चालन गर्नुपर्ने जिकिर गरे । विद्यालयले नै एस. ई. ई.को विकल्पका विषयमा भइरहेको बहसप्रति इङ्गित गर्दै पढाइ एकातिर परीक्षा अर्कोतिर गर्न नहुने भन्दै उनले असार १५ सम्ममा परीक्षा सञ्चालन गर्न सकियो भने ३० देखि ४० दिनमा नतिजा निकाल्न सकिने भएकाले शैक्षिक सत्रममा फरक नपर्ने भनाइ राखे । 


कोभिड १९ को विश्वव्यापी महामारीका सन्दर्भमा नेपाल पनि अछुतो नरहेको सन्दर्भ उप्काउँदै शिक्षा क्षेत्र सर्वाधिक प्रभावित भएको भनाइ मन्त्री पोखरेलको थियो । भाइरसविरुद्धको भ्याक्सिन तयार नभएको अवस्थामा भौतिक दूरी कायमा गर्दै विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले दिएका निर्देशन पालना गरेर अघि बढ्नुपर्ने धारणा उनले राखे । मङ्सिर वा जाडो सुरु नहुँदै अझै खतरा बढ्ने सम्भावना विज्ञहरुले देखाएका बताउँदै उनले सङ्कट अलि लम्बिने सङ्केत गरे ।
नेपाल सरकारले लिएको नीतिका कारण नेपालमा सङ्क्रमण कम भएको बताउँदै विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार कोरोनाका कारण मृत्यु नभएका विश्वका १० ओटा देशमध्ये नेपाल पनि रहनु दुःखका बीचको सुखद् कुरा भएको पोखरेलले बताए । 

भाइरससँग जुध्न सक्ने प्रतिरोधात्मक क्षमता विकास गर्नुपर्नेमा जोड दिँदै शिक्षा मन्त्री पोखरेलले सङ्कट सामान्य कदमले मात्र समाधान नहुने र अर्को उचाइ पुगेर समाधान गर्नुपर्ने बताए । ‘अहिलेको परिस्थितिमा परम्परागत ढङ्गले शिक्षात्मक काम अगाडि बढाउन सकिँदैन, यसका लागि अनलाइन, दूर र डिजिटल शिक्षा प्रणालीमा जानुपर्ने अवस्था सिर्जना भएको छ’ मन्त्री पोखरेलले भने, ‘शैक्षिक पद्धतिमाथि नै नयाँ ढङ्गले सोच भनेर यो परिस्थितिले भनेको छ । यसका लागि मैले मन्त्री परिषद्को बैठकमा समेत कुरा उठाएको छु ।’

यो बेला भनेको वैज्ञानिक समुदायको कुरा सुन्ने हो । यसका लागि पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको संयोजकत्वमा निकायगत संरचना समावेश गरिएको ६ ओटा विषयगत समिति गठन गरिएको पोखरेलले जानकारी दिए ।

जाडो, गर्मी तथा पर्व बिदा कटौती गर्ने र आवश्यकताअनुसार अतिरिक्त कक्षा सञ्चालन गरी पाठ्यक्रमले तोकेको उद्देश्य पूर्ति गर्न सकिने धारणा उनले राखे । हाललाई नेपाल टेलिभिजनबाट अध्यापन सुरु सञ्चालन भइरहेको उनले जनाए । शिक्षक महासङ्घसहित सङ्घ÷सङ्गठनल शिक्षकहरुलाई प्रविधिमैत्री बनाएर विद्यार्थीहरुलाई लाभान्वित बनाउने दिशामा अघि बढ्न उनको सुझाव थियो ।

सहभागीहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षा ऐन ल्याउनका लागि विभिन्न तहमा छलफल गरिरहेको भनाइ राखे ।

कार्यक्रमका अध्यक्ष तथा महानगर समितिका अध्यक्ष भुवन सुवेदीले वैशाख ६ गतेदेखि सञ्चालित प्रशिक्षणको १० दिनको प्रतिवेदन पेस गरेका कार्यक्रममा नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापाले इसिडी, विद्यालय कर्मचारी र साविकको उच्च माध्यमिक तहका शिक्षकको हक हितका लागि महासङ्घ आन्दोलनमा जान पनि तयार रहेको बताए । वर्तमान विपद्को अवस्थामा महासङ्घले सबै शिक्षकहरुलाई एक दिनको तलब सहयोग गर्न आह्वान गरेको स्मरण गर्दै थापाले कतिपय स्थानीय पालिकाले ५ दिनदेखि १ महिनासम्मको तलब कटाएकोमा आक्रोश प्रकट गरे । आवश्यक परे जति पनि सययोग गर्न तयार रहेको बताउँदै उक्त रकम फिर्ता गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका संस्थापक अध्यक्ष हितराज पाण्डेले धुले युगबाट सुरु भएको शैक्षिक प्रणाली समयक्रमसँगै अत्याधुनिक प्रविधिमा पुगेको बताउँदै यसका लागि सङ्गठनले गरेको कार्य प्रशंसनीय रहेको भनाइ राखे । नेकपाका गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका पाण्डेले शिक्षकहरुको ध्यान जुनसुकै परिस्थितिमा पनि विद्यार्थीकेन्द्रित शैक्षिक गतिविधिमा संलग्न हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारी, युनेस्को शिक्षा समितिका संयोजक प्रा.डा. वासुदेव काफ्लेलगायतले शुभकाामना दिएका थिए । गगल मिटका माध्यमबाट सञ्चालित करिब २०० जना सहभागी कार्यक्रमको सञ्चालन महानगर समितिका सचिव विकल पौडेलले गरेका थिए ।


No comments:

Post a Comment

shivalayaschool2017@gmail.com